ए वान न्यूज

तपाईँसँग कुनै चेतनामूलक जानकारी, समाचार वा लेखहरु छन् भने हामीसँग सेयर गर्न सक्नुहुनेछ । हामी जानकारीमूलक, चेतनामूलक लेखलाई स्थान दिनेछौँ । – ए वान मल्टिभिजन (a1multivision@gmail.com)


Sunday, November 23, 2014

सार्क, मोदी र नेपाल

मोदीको जनकपुर भ्रमणको अजेन्डाले सार्क सम्मेलन ओझेलमा परेको छ, नेपालको आन्तरिक राजनीतिमा उनको प्रवेशलाई आमन्त्रण गर्दै छ ।


krishna khanal
गत हप्तान्तमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणबारे निकै अन्योल छायो । सरकारको तर्फबाट मोदी भ्रमणको तयारी जिम्मा पाएका भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले बिहीबार मोदीको जनकपुर, लुम्बिनीलगायतका धार्मिक भ्रमण रद्द भएको जानकारी गराएका थिए । यो खबर अत्यन्त सनसनीपूर्ण रूपमा सर्वत्र फैलियो पनि । यद्यपि यो कुराको औपचारिक तहमा कहिल्यै पुष्टि हुन सकेको थिएन । २४ घन्टा नबित्दै शुक्रबार साँझमा मोदीको भ्रमण यथावत् रहेको कुरा सार्वजनिक भयो । यसबीच प्रधानमन्त्री सुशील कोइरालाले भारतीय राजदूत रञ्जित रेसँग कुरा गरे । उपप्रधानमन्त्री वामदेव गौतमले मोदीले जनकपुरको बाह्रबिघामा सार्वजनिक सम्बोधन गर्न पाउने भन्दै भ्रमण स्थगन नगर्न राजदूतलाई अनुरोध गरे । अहिले जनकपुरमा मोदीको स्वागतका लागि तयारीले पुनः तीव्रता पाएको छ । जनकपुरको यो प्रकरणले नेपाली राजनीतिमा के कस्तो प्रभाव पार्ने छ हेर्न बाँकी नै छ । तर मैले भ्रमण रद्द वा यथावत् भन्ने प्रकरणमा मात्र होइन, सार्क शिखर सम्मेलनमा नेपाल-भारत राजनीतिको यो समग्र विषयलाई गम्भीरतासाथ लिनु आवश्यक ठानेको छु ।
काठमाडौंमा मंसिर १० र ११ मा सम्पन्न हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -सार्क) को १८ औं शिखर सम्मेलनले क्षेत्रीय सहयोग विस्तारलाई कति सार्थक बनाउने छ, भविष्यले नै बताउला । तीन दशक पूरा हुन लागेको सार्क यात्राको गतिलाई हेर्ने हो भने यो अझै विचारविमर्श, सभा र सम्मेलनको तहबाट माथि उठ्न सकेको छैन । यही गतिमा त यसले अपेक्षित क्षेत्रीय नीति र कार्यक्रमको तहमा पुग्न अरू कति दशक पार गर्नुपर्ने छ, अनुमान गर्न पनि कठिन हुन्छ । वास्तवमा यो एउटा उत्साहहीन कर्मकाण्डी औपचारिकताभन्दा बढी साबित हुन सकेको छैन ।
अर्को कुरा, नेपालजस्तो देशले शिखर सम्मेलनको आयोजना गर्न पनि पूर्वाधारका हिसाबबाट निकै चुनौतीपूर्ण काम रहेछ । काठमाडौंमा सम्पन्न हुने यो तेस्रो शिखर सम्मेलन हो । पहिलेभन्दा पृथक् तर कटु यथार्थ, यसपटक चार दिनसम्म काठमाडौंवासीको दिनचर्या नै प्रभावित हुने भयो । विद्यालय चार दिन, सार्वजनिक कार्यालयहरू दुई दिन बन्द हुने भएका छन् । बिदा भनिए पनि यो बन्द नै हो, तर सनातनी विरोधमा होइन समर्थनमा । काठमाडौं खाल्डोका तीनै सहर सिँगारिएका छन्, जनकपुर पनि फेरिँदै छ, लुम्बिनी पनि सुसज्जित हुँदै गरेको होला । यी कुरामा मुलुकको प्रतिष्ठा जोडिएको छ, त्यसैले गुनासो छैन । सार्कका नाममा हुने सरकारी मात्र होइन, गैरसरकारी सभा, सम्मेलन, आतिथ्य, भोजभतेर, आदिका हिसाबले पनि यतिखेर काठमाडौं दक्षिण एसियाको केन्द्रमा छ । तर यी सबै कुराबाट धेरै टाढा रहेका आम नागरिकसँग सार्क कहिले अर्थपूर्ण रूपमा जोडिने हो आकाशको फलझैं देखिन्छ ।
यो सम्मेलन नेपालीका लागि मोदीमय बन्दै गएको छ, सायद आयोजनाको यो एउटा विशिष्ट झाँकी पनि हो । सहभागी हुने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्थलमार्गबाट जनकपुर सभास्थल काठमाडौं आउँदै छन् । यो समय जनकपुर मात्र होइन, भारत र नेपालका हिन्दु धर्मावलम्बी जनताका लागि विशेष महत्त्व राख्ने विवाहपञ्चमीको पूर्वसन्ध्या पनि हो । अयोध्या र जनकपुरको धार्मिक ऐतिहासिकता जोडिएको यो पर्वले यसको महत्त्व अरू बढाएको छ । काठमाडौंमा सम्मेलन सकिएपछि अन्यथा पुनर्विचार गरिएमा बाहेक मोदी हिन्दुहरूको अर्को महत्त्वपूर्ण धार्मिकधाम मुक्तिनाथ पनि जाँदै छन् र फर्किने क्रममा उनले लुम्बिनीको पनि भ्रमण गर्ने छन् ।
सार्क क्षेत्रीय सहयोगको संस्था हो । यसमा द्विपक्षीय सहयोगको कार्यसूची हुँदैन । तर सम्मेलनको यो महत्त्वपूर्ण घडीमा शीर्ष नेताहरूले द्विपक्षीय विषयमा पनि 'करिडर' मा विचारविमर्श गर्छन् । यो द्विपक्षीय 'सटल डिम्लोम्यासी' पनि हो । करिडरमा गर्ने भनिएको वार्ता, संवाद वा भेटघाटको अर्थ द्विपक्षीय मुद्दाले सार्क प्रभावित नहोस् भन्ने मनसाय रहेको छ । तर जुन रूपमा मोदी सार्क सम्मेलनका लागि नेपाल प्रवेश गर्दै छन्, त्यसले यो मर्यादाको उलङ्घन गर्दै छ । हाम्रो राजनीतिमा चिन्ता त्यतातिर देखिन्न । मोदीको जनकपुर भ्रमणको अजेन्डाले नेपालका लागि सार्क सम्मेलन ओझेलमा परेको छ, आन्तरिक राजनीतिमा मोदीको प्रवेशलाई आमन्त्रण गर्दै छ ।
हामीलाई थाहा छ, नेपालको आन्तरिक राजनीतिको निणर्ायक घडीमा भारतको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । यो इतिहाससिद्ध कुरा हो । यो पनि जगजाहेरै कुरा हो नेपाली नेताहरू आफ्नो अनुकूल भारतको साखका लागि लम्पसार पनि हुन्छन् । जनकपुर भ्रमण रद्द वा यथावत् प्रकरणमा यो आकांक्षा पनि यथार्थ रूपमा भल्किएको छ । मलाई आशा लागेको थियो भ्रमण रद्दले मोदीलाई आआफ्नो दलगत उपयोग गर्ने नेपाली राजनीतिक प्रवृत्तिको हानथापलाई भारतीय पक्षले बुझेछ र विचार बदलेको होला । तर कुरा त्यसो होइन रहेछ । मोदी नेपाली जनतामा एउटा कन्स्टिच्युन्सी (प्रभाव क्षेत्र) बनाउन चाहँदा रहेछन् बाह्रबिघा मैदानमा भाषण गरेर, बाइसाकल वा यस्तै तत्काल लोकरिझायीका पुरिया पस्केर । रद्दको हतियार मात्र प्रयोग भएको रहेछ । नेपालले त्यो स्वीकार गर्‍यो भ्रमण यथावत् भयो । अब त्यो हतियार अरू संगीन र धारिलो बन्न पुगेको छ नेपाल-भारत राजनीतिमा ।
प्रधानमन्त्री भएपछि नरेन्द्र मोदीले आफ्नो शपथग्रहण समारोहमा सार्कका आफ्ना समकक्षीहरूलाई आमन्त्रण गरेर क्षेत्रीय सहयोगलाई नयाँ ड्राइभ दिन खोजेका थिए । यो अत्यन्त उत्साही प्रारम्भ थियो । तर सार्क सम्मेलनमा आउने उनको तयारीले त्यसलाई पुष्टि गर्न सकेन । नेपालको औपचारिक भ्रमणका बेला उनका हाउभाउ, भावभङ्गी र अभिव्यक्तिले सम्बन्धले अब नयाँ आयाम लिने छ भन्ने आशा जगाएको थियो । नेहरूले निर्माण गरेको सुरक्षा अवधारणाभन्दा फराकिलो ढंगले नेपाल-भारत सम्बन्ध विकास केन्दि्रत बिजनेस लाइक ढाँचामा पुनर्निमाण हुने अनुमान गरिँदै थियो । उनले हाम्रो संविधानसभामा बोल्दा सभासदहरू मात्र होइन, समग्र नेपालीले ताली पिटेका थिए । गणतन्त्र र धर्मनिरपेक्षताको मूल्य सुरक्षित रहेको भरोसा पाइएको थियो । असल छिमेकीको उदाहरण प्रस्तुत भएको थियो ।
नरेन्द्र मोदी भारतीय जनता पार्टी -बीजेपी) का नेता हुन् । त्यसलाई मोदीले नयाँ ऊर्जा दिए, हिन्दुत्वमा होइन, विकासको बिजनेसमा । हाम्रो लागि मोदीप्रतिको आकर्षण त्यसमा हो, बीजेपीको दर्शन र दृष्टिकोणमा होइन । तर मलाई यो पनि थाहा छ, नेपालमा बीजेपीको मूल्य अँगाल्ने मानिसहरूको जत्था र लबि पनि ठूलै छ । यसलाई मोदीले कसरी उपयोग गर्छन् उनको कुरा हो । तर यसले मोदीको अन्तर्राष्ट्रिय व्यक्तित्व पनि प्रभावित हुन्छ । यद्यपि भारतको दाँजोमा नेपाल सानो छ । तर मूल्य र मान्यता सानो वा ठूलो देशकै भरमा निर्धारण हुँदैन ।
बीजेपी हिन्दुत्वको मान्यतामा संगठित पार्टी हो । उसको नेपाललाई हेर्ने पार्टीगत दृष्टिकोण सोहीअनुसार आधारित हुन्छ र बन्छ पनि । यो कुनै अस्वाभाविक कुरा होइन । तर नरेन्द्र मोदी धर्मनिरपेक्ष भारतको प्रधानमन्त्री पनि हुन् । अयोध्या-जनकपुर कनेक्सनले उनलाई प्रधानमन्त्रीका रूपमा भन्दा बीजेपीको अजेन्डामा प्रस्तुत गरेको छ । अब नेपाल-भारत सम्बन्ध 'हिन्दुत्व' को आधारशिलामा संगठित गर्न खोजिँदै छ भन्नु अन्यथा नहोला । जनकपुर प्रयत्न यसैको एउटा प्रयोग हो । जहाँसम्म हिन्दुत्वको प्रश्न छ, जनसंख्याका आधारमा भन्ने हो भने यो एउटा विशाल पक्ष हो । दुवै देशमा हिन्दू धर्ममा आस्था राख्नेहरूको संख्या ८० प्रतिशतभन्दा बढी छ । संविधान वा सम्बन्ध यतिले मात्र निर्धारण गर्दैन । यो भन्दा व्यापकतामा हेरिनुपर्छ भन्ने मान्यता अहिले नेपालले राखेको छ । यस अर्थमा हामी मोदीभन्दा भिन्न छौं । तसर्थ हाम्रो कार्यसूची बीजेपीको पार्टीको मान्यताभन्दा माथि छ । जसरी भारतको संविधान बन्यो र विकसित भयो हामी त्यसबाट लाभ लिन चाहन्छौं । तर भर्खरै धर्मनिरपेक्षता अँगालेको नेपालका लागि भने जनकपुर प्रकरण संकीर्णतामा खुम्चिने सम्भावना हो । समग्र राष्ट्रका सन्दर्भमा विकास र बिजनेसका मूल्य हुन्छन् । यसमा केही मूल्यहरू लेनदेन गरिन्नन् र गर्नु पनि हुन्न । मलाई डर लाग्न थालेको छ, मोदीको नायकत्वमा नेपाल-भारतको बिजनेस डिलमा ती मूल्य निरपेक्ष नरहने भए, विकास र हिन्दुत्व साटासाट हुने सम्भावना बढ्यो ।
नेपाल र भारत धर्म, संस्कृति, सभ्यता र समाज व्यवस्थाका हिसाबले फरक छैनन् । द्विपक्षीय सम्बन्ध यसबाट अलग हुन सक्तैन । यसको प्रभावबाट राजनीति पनि मुक्त छैन । तर प्रश्न के हो भने राजनीतिक परिचालनका लागि यसैमा प्रतिस्पर्धा गर्ने कि ती मूल्यहरूलाई सुरक्षित र सम्मान गर्दै सम्बन्धलाई वस्तुगत लाभ र पारस्परिकतामा रूपान्तरण गर्ने भन्ने हो । म अयोध्या-जनकपुर कनेक्सनको विपक्षको व्यक्ति होइन । यसको महत्त्व र उपादेयता अत्यन्तै ठूलो छ । त्यति मात्र होइन, सारनाथ-लुम्बिनी कनेक्सन पनि उत्तिकै महत्त्वको छ । तर यसको महत्त्व स्थापित गर्ने र उपयोग गर्ने विधि भने हाइप्रोफाइल राजनीति होइन । राजनीतिको प्रवेशलाई पूर्णतया निषेध गर्न सकिन्न । प्रश्न राजनीतिलाई कुन प्रोफाइलमा स्वीकार गर्ने भन्ने हो । जनस्तरमा, स्थानीय सरकारको तहमा यसलाई उपयोग गर्नुपर्छ, राजनीतिक लाभका हिसाबले होइन ।
भारतले नेपाललाई यथेष्ट सहयोग गरेको छ, गर्दै पनि छ । २००७ सालमा लोकतन्त्र/प्रजातन्त्रमा वामे सर्न थालेदेखि भारतले गर्दै आएको सहयोग अत्यन्त सराहनीय छ । म यसको प्रशंसा पनि गर्छु । तर यसले अपेक्षित सौहार्दता बनाउन सकिराखेको छैन । यो पनि कटु सत्य हो । भारतको संस्थापन पक्षले यो बुझ्नु जरुरी छ ।
अन्त्यमा, मलाई सदैव खड्किने कुरा के हो भने नेपाल-भारत सीमा क्षेत्रको विकासको दुरवस्था । यसको निराकरणका लागि दूतावासले केही नेतालाई केन्दि्रत गरेर तराईका जिल्लामा पनि करोडौं लगानी गरेको छ । तर त्यसले भारतको हित गरेजस्तो लाग्दैन । म पूर्वको पशुपतिनगरदेखि पश्चिमको दार्चुलासम्मका नेपाल-भारत सीमामा पटकपटक पुगेको छु । त्यहाँको दुरवस्थाले समग्र नेपालीको भारतका प्रति धारणा र दृष्टिकोण बनाउँछ । त्यस्तै भारतीयको नेपालका प्रति पनि । मोदीबाट मात्र होइन कुनै पनि भारतीय प्रधानमन्त्रीबाट मेरो अपेक्षा भनेको नेपाल-भारत सीमाको एउटा निश्चित क्षेत्रमा नेपाल-भारत संयुक्त विकास योजना बनाऔं र इमानदारीसाथ कार्यान्वयन गरौं । यसले एक दशकमै नोपाल-भारत सम्बन्धलाई जनस्तरमा अर्थपूर्ण बनाउँछ साथै सीमावर्ती क्षेत्रका जनताको जीवनमा पनि ।

प्रधानमन्त्री दुःखी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई लिएर जिम्मेवार व्यत्तिबाटै अनर्गल कुरा बाहिर आएकोमा प्रधानमन्त्री सुशील कोइरालाले दुःख व्यत्त गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री र परराष्ट्रमन्त्रीले नै भ्रमणका विषयमा जथाभावी बोलेपछि प्रधानमन्त्री दुःखी भएका हुन्।
'भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणलाई लिएर जे कुरा बाहिर आए त्यसले प्रधानमन्त्री सुशील कोइराला ज्यु दुःखी हुनु भएको छ,' प्रधानमन्त्री कोइरालाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने, 'हामीले भ्रमणको सम्पूर्ण तयारी गरेका छौं। विचमा कसरी, के उदेश्यले जनकपुर भ्रमण नगर्ने भन्ने कुरा आयो हामीलाई थाहा छैन। हामीले आफै व्यवहार गर्न कहिल्यै जानेनौं।
मंसिर १० र ११ गते काठमाडौंमा हुने दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को १८औं शिखर सम्मेलनमा सहभागी हुने क्रममा भारतीय प्रधानमन्त्री मोदीको जनकपुर, लुम्बिनी र मुस्ताङ भ्रमण तय भएको थियो। तर बिहीबार एक्कासी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले मोदीको जनकपुर भ्रमण रद्द भएको विज्ञप्ति जारी गरेपछि अन्योल बढेको थियो जुन अहिलेसम्म पनि जारी छ। निधीले विज्ञप्ति जारी गरे लगत्तै परराष्ट्र मन्त्रीले पनि मोदीले जनकपुर भ्रमण नगर्ने अभिव्यत्ति दिएका थिए। काठमाडौंस्थित भारतीय दूतावासले भने मोदीको जनकपुर भ्रमण रद्द भएको बारे कुनै जानकारी नभएको बताएको थियो।

No comments:

Post a Comment