काठमाडौ, १३ चैत्र, एस । विगत १–२ वर्षदेखि होली सभ्य रुपमा मनाउन थालिएको छ । होलीको नाममा जथाभावी लोला हान्ने, पानी छ्याप्ने, जाँड रक्सी खाएर अनावश्यक होहल्ला गर्ने लगायतका विकृति गर्नेलाई महानगरीय प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने कानुनसँगै होली पर्व सभ्य पर्व हुन थालेको छ । विगतका वर्षहरुमा होली पर्व नआउँदै जथाभावी लोला हान्ने, फोहोर पानी छ्याप्ने विकृतिहरु रहेको थियो तर हाल त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने प्रहरीले तयारी गरेको हुनाले त्यस्ता घटनाहरु ह्वात्तै घटेको छ ।
तर यस्तो हुनु अनुशासनले होइन राम्रो शासनले भएको केही विश्लेषकहरुले तर्क राखेका छन् । विदेशका विभिन्न देशहरुमा कडा र वैज्ञानिक शासन प्रणाली भएका ठाउँमा सबै कुरा चुस्त स्फुर्त अगाडि बढेको देखिएको उदाहरण विश्लेषकले गरेका छन् ।
यस पटकको होलीमा मादक पदार्थ सेवन गरी झैझगडाबाट हुने दुर्घटनामा धेरै न्यूनता आएको छ । होली पर्वमा समेत कसैको इच्छाविपरीत होलीको नाममा फोहर पदार्थ फाल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय हुने व्यवस्था गरिएको छ । यस पटक प्रहरी, प्रशासनले होली पर्वलाई विकृतिमुक्त बनाउनको लागि ठाउँ ठाउँमा माइकिङ् गर्नुका साथै सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको जनाएको थियो । मंगलबार काठमाडौ लगायत पहाडी भेगमा होली मनाइएको छ भने बुधबार तराईमा होली मनाइँदै छ ।